खसीको आत्मकथा

हामी खसीबोकाहरुको पनि मरेपछि नाम राखिन्छ– मटन सेकुवा, मटन बिरयानी, मटन कवाफ भनेर।

म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु। कुखुराको चल्लाले माउ कुखुरासँग सोधेछ, ‘ ममी मान्छेको चाहिँ सबैको नाम हुन्छ, हाम्रोचाहिँ किन हुँदैन ?’

माउ कुखुरीले जवाफ दिइछन्, ‘मान्छेको चाहिँँ जिम्दो हुँदाखेरि नाम राख्छन्– राम, श्याम, हरि, राज, मैयाँ, कान्छी, पिङ्की, करिश्मा, करिना। हामी कुखुराहरुको चाहिँ मरेपछि नाम राख्छन्– चिकेन चिल्ली, चिकेन फ्राई, चिकेन म:म, चिकेन कटलेट।’

हामी खसीबोकाहरुको पनि मरेपछि नाम राखिन्छ– मटन सेकुवा, मटन बिरयानी, मटन कवाफ भनेर। अनि, जिम्दोमा पनि हाम्रो नाम छोटकरीमा हुन्छ। कालो खसी, रातो खसी, पाटे बाख्रो, कालो, सेतो बाख्रो आदि।

मेरो ममीको नाम सेती बाख्री हो। ड्याडीचाहिँ थाहा छैन। मेरो ममीले एक बेतमा हामी दुई जना जुम्ल्याहालाई जन्म दिनुभयो रे ! मेरो दाइ कालो, म त रातो छु। सायद मेरो ड्याडी रातो र दाइको ड्याडी कालो भएकाले हामी दुई जनाको रंग फरक भएको होला।

कुरा गरेको सुनेको, हामीभन्दा पहिले हाम्रो ममी सेती बाख्रीले थुप्रै बेत पाठापाठी पाउनुभयो रे ! मेरा दाइदिदीहरु धेरै भए रे ! अहिले मेरा दाइहरु हुनुहुन्न। सबै मटन सेकुवा, मटन बिरयानी, मटन करी भएर मान्छेको ट्वाइलेटबाट बगेर वाग्मती, विष्णुमती, धोबीखोलामा बगिसक्नुभयो होला । कोसी, गण्डकी, कर्णालीमा चाहिँ ट्वाइलेट बग्दैन रे ! मेरा दिदीहरु अझै हुनुहुन्छ । भान्जाभान्जी जन्माउँदै हुनुहुन्छ उहाँहरु।

हामी सानो हुँदा हामीलाई पाठो भन्थे । हामी बुर्लुक्क बुर्लुक्क उफ्रेर खेल्दा, कम्मर मर्काइमर्काइ उफ्रीउफ्री नाच्दा सबै जना मोहित भएर हेर्थे। हामीलाई बोकेर फोटो खिच्थे। चलचित्र, म्युजिक भिडियोहरुमा हामीलाई राम्रीराम्री तरुनीहरुले छातीमा च्यापेर सुटिङ पनि गर्थे।

म चार महिनाको हुँदा हामीलाई पाल्ने साहूको घरमा एउटा मान्छे आयो । साहू र त्यो मान्छेले हामी दुई पाठालाई देखाएर के–के कुरा गरे । मैले अलिअलि सुनेँ– ‘यो कालो रंगको छ, यसलाई बोका नै राख्ने, कालो बोकाको धेरै पैसा आउँछ ।’ मलाई देखाएर साहूले भन्यो– ‘यो रातो रंगवालालाई खसी बनाए पैसा धेरै पाइन्छ।’

म चार महिनाको केटो, केही थाहा छैन। मलाई खसी बनाउने भनेर कुरा गरेको सुनेर खुब खुसी भएँ । के होला खसी बनाउने भनेको ? मेरो दाइ कालो बोकाले मन खिन्न बनाएर भन्यो– ‘तँलाई चाहिँँ खसी बनाउने रे, मलाई चाहिँँ यत्तिकै राख्ने रे !’

त्यो मान्छेले मलाई खोरबाट लिएर गयो र चोकमा पछार्‍यो। म आत्तिएँ, कराएँ । मेरो साहूले मेरो अगाडिका दुइटा खुट्टा समात्यो । साउनीले पछाडिका खुट्टा च्याप्प समाती। त्यो मान्छेले खल्तीबाट ब्लेड झिकेर मेरो अन्डकोशको बीचमा चिर्‍यो होला । म मरेसरी भएँ। भुतुक्क भएँ। म्याँ म्याँ गरेर चिच्याएँ। यति दुख्यो, यति दुख्यो, दायाँबायाँ केही देखिनँ।

साहूको सानो छोरो ‘त्यो मलाई देऊ, म पोलेर खान्छु’ भनेर रोएको सुनेँ । मलाई हनहनी ज्वरो आयो । बाँच्दिनँ कि भन्ठानेको थिएँ, बल्लतल्ल बाँचेँ । खोरबाट हेरिरहेको मेरो कालो बोको दाइले पछि भन्यो– ‘तेरो अन्डकोष चिरेर दुइटै अन्डा झिकेर तेल–बेसार दलिदियो । अनि, तिनलाई तेरो साहूको छोराले पोलेर कचौरामा हालेर तँलाई नै हेरीहेरी खायो।’

जिन्दगी बेकार भयो मेरो। खालि वनमा चर्न जाने। घाँस खाने। खोरमा आउने। खोले खाने। सुत्ने, बस्। वनमा चर्न जाँदा दाइ कालो बोकोलाई देखेर तरुनीतरुनी बाख्रीहरु खुब मस्किन्छन्। दिनका दिन एउटा न एउटा बाख्रीसँग लभ पर्छ उसको। ऊ त बाख्रीहरुको हुलमा हिरो नै भएको छ।

आफू खसी भएकाले राम्रीराम्री बाख्रीहरुसँग बोल्न मन लाग्छ। छिल्लिन मन लाग्छ तर बाख्रीहरुले वास्ता नै गर्दैनन्। हेर्दासम्म पनि हेर्दैनन्। बोकाको त गन्ध पनि आउँदो रहेछ। त्यही गन्ध सुँघ्दै बाख्रीहरु पछि लाग्छन्। खसी भएपछि म बढ्नचाहिँ हलक्क बढेँ। बाउ बन्ने, लभ गर्ने अधिकारचाहिँ साहूले खोसिदियो मेरो।

म त भर्खर जन्मेको थिएँ, राम्ररी सम्झन्न। ठूलो भूकम्प आएर हाम्रो साहू बस्ने घर भत्कियो रे ! अनि, साहूहरु हामी बस्ने गोठमा बस्न आए । हामी अनि गाई–भैँसीहरुलाई चाहिँँ अर्को छाप्रो बनाएर राखिदिए। यसपालि पानी पनि धेरै पर्‍यो भन्छन्। हाम्रो खोरमा पानी चुहिएर राम्रोसँग सुत्नै पाएका थिएनौँ राति पनि।

बल्लबल्ल बर्खा सकियो । अब त मौसम पनि राम्रो राम्रो सित्तल हुँदै थियो। डाँडाबाट हिमाल पनि कस्तो राम्रो देखिन थाल्या थियो। मान्छेहरु दसैँ लाग्यो भन्दै थिए। गाउँका मान्छेहरु नयाँ लुगा सिलाउने कुरा गर्दै थिए। हाम्रो त पानी तताएर भगवान्ले लगाइदिएको लुगा–जुत्ता सब फुकाल्ने कुरो भइरहेको सुनेँ। गाउँबाट हुलका हुल खसी, बोका, बीचमा बूढीबूढी बाख्रीहरु लिएर गइरहेका छन् व्यापारीहरुले।

खोरमा बस्दा सधैँ चराउन वनमा लग्थे। आज लगेनन्। कालो बोके दाइसँग भनेँ– ‘दाइ हुलका हुल हामीजस्तै चौपाया गाउँबाट लगिँदै छ। हामीलाई पनि लग्ने हुन् कि ?’ मलाई ‘टेन्सन’ भयो।

साहूको आँगनमा चार–पाँच जना मान्छे आए। हामीलाई खोरबाट झिकेर उचाल्न थाले। मलाई उचालेर एउटाले भन्यो, ‘१५ हजार दिन्छु।’ साहूले भन्यो, ‘१८ देऊ।’ उसले भन्यो, ‘ल १६ हजार दिन्छु।’ मेरो दाइ कालो बोकेलाई उचालेर ‘ल ल यसलाई पनि १६’ भन्यो। हाम्री आमा सेती बाख्री गर्भवती भएकी थिइन्। भाइ अथवा बहिनी के पाउँछिन्, थाहा छैन । आमा टुलुटुलु हेर्दै थिइन् । हामीलाई डोरीले घाँटीमा बाँधेर घिच्याउँदै लिएर गए।

केही बेर चिच्याएँ म। हिँडेन भने लठ्ठीले हान्छन् भनेर लुरुक्क परेर हिँड्न थाल्यौँ हामी। एकछिन हिँडेपछि बसको छतमा तानेर राखे। त्यहाँ हामीजस्तै अरु खसीबोकालाई पनि छतमा हाले। कहिल्यै नचिनेकाले खासै कुरा भएको थिएन हाम्रो। एकछिनपछि बोल्न मात्रै के खोजेका थियौँ, बस गुडिहाल्यो। कहिले यताबाट उता हल्लाउँछ। कहिले उताबाट यता हल्लाउँछ। हल्लाउँदै हल्लाउँदै सहरको कोलाहल, धूवाँ, धूलोमा आइपुग्यौँ। छतमा मलाई साह्रै गाह्रो भयो।

बसबाट फेरि खुट्टा समातेर तल खसाले। बसबाट ओराल्नासाथै मेरो कालो बोके दाइलाई एउटाले समातेर मोटरसाइकलको बीचमा राख्यो र अर्को मान्छे पछाडि बस्यो। उसलाई समातेर लिएर गए। दाइ मलाई हेरेर ‘बाई बाई...’ गर्दै गयो। दाइलाई कहाँ लगेका हुन्, मसँग किन छुट्याइदिएका हुन् ! म रोएँ। सायद दाइ पनि म्याँयाँ गरेर धेरै रोयो । केही बेरमा ऊ देखिएन।

झिसमिसे उज्यालो हुँदै थियो। हामीलाई राखेको पसलको सटर मुटु नै थर्कने गरी खोलियो घ्यार्र...। टिनको ठूलो ड्रममा पानी उम्लिरहेको थियो। हामी एउटै डोरीमा ३० वटा खसी बाँधिएका थियौँ। किन यसरी बाँधेका होलान् हामीलाई ? भन्न त मान्छेहरुलाई जनावरमध्येको विवेकी, बुद्धिमान्, ज्ञानी भन्छन्।

हामी धेरै ठाउँबाट आएका रहेछौँ। मैथिली, भोजपुरी, अवधी, उर्दू, हिन्दी, खसानी धेरै भाषा बोल्नेहरु पनि रहेछन्। उनीहरुका कान लामालामा थिए। तिनलाई लामकाने भन्थे मान्छेहरु । हामी पहाडिया सामन्ती खसी पाँचवटा थियौँ। हाम्रोचाहिँ कान छोटोछोटो, भुँडी भ्यात्त परेको थियो। पसलअगाडि एउटा मान्छेले चुप्पीमा साँध लगाइरहेको थियो। मैले ठानेँ, सायद हामीलाई भोक लागेको थाहा पायो होला, स्याउला खुवाउन हाँगा काट्न उध्याएको होला, त्यो चुप्पी !

एउटा मान्छे सबैभन्दा अगाडि भएको एउटा लामकाने खसीलाई घाँटीमा पासोजस्तो लगाएर तान्छ। अनि, अर्कोले उध्याएको चुप्पीले गर्दनमा घ्याच्च हान्छ। त्यसपछि एउटै डोरीमा बाँधिएका हामी मधेसी, पहाडी, हिमाली सबै भाषा बोल्ने खसी एकसाथ आत्तिन्छौँ।

साथी एकबाट दुई भएर रगत वाक्दै छटपटाइरहेको देखेपछि हामी सुलुलुसुलुलु पिसाब छोड्न थाल्यौँ। आत्तिन्छौँ, कराउँछौँ, भाग्न खोज्छौँ। उम्लिरहेको तातो पानीमा हालेर रौँका लुगा फुकाल्न थाल्छन्। खुट्टामा लगाएको खुरजुत्ता पनि फुकाल्छन्। एउटा मान्छेले तराजुमा जोखेर आधी खसी लिएर जान्छ। आधीचाहिँँ टुक्राटुक्रा पारेर धेरै जनालाई बेचिन्छ। म छक्क पर्छु।

पसले दुई नम्बर खसीलाई फुकालेर लग्छ। तीन नम्बर, चार नम्बर, पाँच नम्बर सबैको त्यही हाल हुन्छ। भाग्न पाए हुन्थ्यो भन्ने कुरा मात्रै खेल्छ मेरो मनमा।

हामी नचाहेरै मर्नका लागि जन्मेका रहेछौँ। वनमा चर्न जाँदा पनि ज्यान जोगाउन गाह्रो– चितुवा, बाघसँग सधैँ जोगिएर हिँड्नुपर्ने। ज्यानको माया सबै प्राणीलाई हुँदो रहेछ। त्यही भएर त होला सबै तर्सने, भाग्ने, चिच्याउने आदि गरेको। ज्यानको माया नभएको भए कोही किन भाग्थ्यो होला ? खसीको जुनी लिएपछि हामी अभागीहरु मर्न तयार हुनैपर्दाे रहेछ।

म १२ नम्बरमा परेको छु। मेरो पालो आजै आउने हो कि भोलि थाहा छैन। मासु किन्ने मान्छेको हुल देख्दा त हामी सबैको पालो आजै आउलाजस्तो छ। एक दिन भए पनि बाँच्ने आशा जाग्छ मलाई। कामना गर्छु, भोलिसम्म बाँच्न पाए पनि हुने थियो । फेरि सोच्छु, बिजोग हेरेर बस्नुभन्दा बरु चाँडै मर्ने पालो आए पनि हुन्थ्यो।

मैले अघि नै भनिसकेँ मान्छे त विद्वान्, ज्ञानी, चेतनशील जनावर हो रे ! तर, किन अरुलाई देखाइदेखाइ उनीहरुको सामुन्ने काट्ने होला ? थाहा नपाउने गरी मारेर खाए पनि त हुन्थ्यो। १२ नम्बरको म एघारचोटि त पहिल्यै मरिसकेँ।

दसैँका बेला म सहिदजस्तो छु । मरेपछि परिकारबाट पुकारिन्छु म। जस्तो : पक्कु, भुटुवा, सेकुवा, भित्र्याँस। खसी भएर धेरै कुरामा ठगिएँ म। तर, मर्ने बेलामा बोके दाइभन्दा अलि सास्ती कम हुँदो रहेछ । हामी खसीलाई त च्वाट्टै हान्दा रहेछन्। बोके दाइलाई त मन्दिरमा लगेर तर्साइतर्साइ, संकल्पसंकल्पी, पर्छीपर्छी, कुदाइकुदाइ, रेटीरेटी बलि दिन्छन् रे ! बिचरा मेरो कालो बोके दाइले धेरै दु:ख पायो होला। के देवता हामीलाई रेटेर बलि दिएपछि साँच्चै खुसी हुने होलान् त ? मान्छे हो ! देउताको धेरै बेइज्जत नगर न ! पशुपन्छीको पनि चेतना छ भनेर जान।

मलाई अगाडि लगिन्छ। मेरा कामिरहेका गोडा पनि बेस्कन समातिन्छ । मेरो घाँटीमा पोल्याजस्तो लाग्यो... म्याँsss !
लेख
- हरिवंश आचार्य (हास्य कलाकार हरिबहादुर)

Comments