प्रेम दिवस

प्रेम दिवस अर्थात प्रणय दिवस- हरेक बर्ष फेब्रुअरी १४ मा विश्वभर मनाइने दिवस हो । यो दिवसलाई अंग्रेजीमा भ्यालेन्टाइन डे पनि भनिन्छ । इटलीका तत्कालीन सम्राट क्लाउडियस द्वितीयले युवाहरु प्रेम र विवाहतिर लाग्नु धर्म विरुद्घ हुने र राज्यको सैनिक सेवा प्रभावित हुने ठहर गरी प्रेम र यस्ता सम्बन्धहरुलाई प्रतिबन्ध लगाए । तर सोही राज्यका एक पादरी सेन्ट भ्यालेन्टाइनले भने त्यसमा बिरोध जनाए । भ्यालेन्टाइनले सम्राट क्लाउडियसको निर्णयको बिरोध गर्दै अनुसशासनको दायराभित्र प्रेम हुने भएकाले यसमा इश्वरको समेत बास हुने तर्क अघि सारे । उनले सम्राटको कदमको अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित गरे । युवायुवतीका जोडीको सामूहिक विवाह आयोजना गरे । पछि सम्राट क्लाउडियसले राज्य प्रमुखको आदेश उल्लंघन गरेको आरोपमा सेन्ट भ्यालेन्टाइनलाई ईशा पूर्व २७० को फेब्रुअरी १४ का दिन मृत्यूदण्ड दिए । मृत्यूदण्डपूर्व भ्यालेन्टाइनले त्यहाँका जेलरकी छोरीलाई प्रेम सन्देश समेत पठाएका थिए भन्ने भनाई रहेको छ । त्यहि भएर पादरी सेन्ट भ्यालेन्टाइनको प्रेम वलिदानको कथासंग जोडिएको यसै दिनको स्मरणमा भ्यालेन्टाइन दिवस मनाउन थालिएको हो । यसै दिनलाई विभिन्न मूलुकमा प्रेम दिवस, पवित्र दिवस, प्रणय दिवस जस्ता विभिन्न नामले मनाउने चलन छ । २०औं सताव्दीपछि त विश्वभरि नै यस दिनलाई एउटा उत्सवकै रूपमा मनाउन थालिएको छ ।आजको दिन खासगरी युवायुवतीहरुले एकअर्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने दिनका रुपमा उपयोग गर्दछन् । युरोपेली मूलुकहरुमा बस्ने क्याथोलिक र रोमन समुदायका नागरिकले भने आजको दिनलाई विशेष र भिन्न रुपमा मायाको पर्वको रुपमा मनाउने गर्दथे । तर पछिल्लो समयमा आएर विश्वभर यस दिनलाई प्रेम दिवसका रुपमा मनाउन थालिएको हो । आजको दिन युवायुवतीहरुले आफ्ना प्रेमीप्रेमिकाहरुलाई रातो गुलाफको फुल उपहारका रुपमा आदान-प्रदान गरेर प्रेम दिवस मनाउँदछन् ।

नेपाली समाजमा भने प्रेमको सन्दर्भलाई त्यति सहजै स्विकार गरेको पाइदैन । अहिले पनि माया प्रेम गर्नु भनेको सामाजिक मुल्य मान्यताको विरुद्घ जानु हो भन्ने बुझाई रहेको छ । प्रेमलाई उच्छृङ्खलताको पर्यायका रुपमा लिने गरिन्छ । विवाहपूर्व अपरिचित कुनै पनि महिला र पुरुषबीचको सामान्य बोलचाल समेत स्विकारिएको हुँदैन । प्रेम गर्नुलाई त एक प्रकारले सामाजिक अपराध नै मानिन्छ । यद्यपि प्रेम दर्शाउनका लागि केहि रिति तथा परम्पराहरु पनि रहेको पाइन्छ । खासगरी मेलापात, विशेष उत्सव, धार्मिक समारोह, बिहे बटुलोहरुमा युवायुवति बिच प्रेमपूर्ण सम्बन्ध अगाडि बढाउने विशेष मौकाहरु दिइन्थ्यो । पछिल्ला दिनमा भने यस्ता सवै प्रकारका बन्धनहरु तोडिएकाछन् । इन्टरनेट तथा डिजिटल प्रविधिको प्रयोग तथा आधुनिकताका कारण प्रेम प्रस्ताव राख्न सहजता बढेको छ । फेसबुक, टि्वटर लगायतका सामाजिक सञ्जालमार्फत डिजिटल उपहारहरु आदा-प्रदान गरिन्छन् र त्यसैका माध्यमबाट राखिएका प्रेम प्रस्तावहरु एकअर्कालाई स्विकार्य भएर वैवाहिक जीवन शुरुवात भएका थुप्रै उदाहरणहरु सुन्न र देख्न पाइन्छन् । निकै टाढा रहेका प्रेमी प्रेमिकाहरुले आज एसएमएस, फोन तथा संचारका अन्य माध्यमबाट पनि प्रेम दिवसको शुभकामना आदान प्रदान गर्ने गर्दछन् ।आज गुलाफको फुलको कारोबार पनि मनग्य हुने गर्दछ । ठूला सपिङ मल, कम्प्लेक्स र उपहारका पसलमा प्रेम दिवसका लागि उपहार किन्नेहरुको भिडभाड लागेको देखिन्छ । त्यस्ता उपहारहरुमा आई लभ यू, प्रेम दिवसको शुभकामना, म तिमीलाई मन पराउँछु जस्ता अनेकौं प्रेम सन्देशहरु लेखिएको हुन्छ ।

Comments